कांग्रेसभित्रको विद्रोही आत्मा र पुस्तान्तरणको लागि गगन थापाको सन्देश

Author

सजिलो पत्रिका

२०८२ पुस २८, सोमबार

55
Share
Featured
  • विशेष महाधिवेशनको उद्घाटनमा गगनकुमार थापाको धारिलो भाषणले कांग्रेसको वर्तमान नेतृत्व, आन्तरिक लोकतन्त्र र पुस्तान्तरणको बहसलाई केन्द्रमा ल्यायो।
  • उनले सभापति शेरबहादुर देउवाप्रति सम्मानसहित नेतृत्व हस्तान्तरणको समय आएको सन्देश दिए र जनआक्रोश, वंशवाद तथा अवसरवादी राजनीतिमाथि कडा आलोचना गरे।
  • थापाको मन्तव्यले विशेष महाधिवेशनलाई औपचारिकताबाट माथि उठाएर कांग्रेसभित्र वैचारिक रूपान्तरण र संगठन सुधारको निर्णायक मोडमा पुर्‍याएको देखियो।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाली काँग्रेसको दोस्रो विशेष महाधिवेशन उद्घाटन समारोह केवल औपचारिक कार्यक्रममा सीमित रहेन । आइतबार साँझ महामन्त्री गगन थापाले दिएको मन्तव्यले कांग्रेसको वर्तमान नेतृत्व, आन्तरिक लोकतन्त्र, पुस्तान्तरण र देशव्यापी जनअसन्तुष्टिको राजनीतिक प्रतिबिम्बलाई एउटै मञ्चमा उजागर गरिदियो ।

भृकुटीमण्डपमा उपस्थित हजारौँ प्रतिनिधि र कार्यकर्ता माझ थापाको भाषण भावुकमात्र थिएन, त्यो सिधा, स्पष्ट र चुनौतीपूर्ण थियो । यो मन्तव्य कांग्रेसभित्रको असन्तोषको अभिव्यक्तिमात्र होइन, पार्टीले अब कुन मोड लिनुपर्छ भन्ने राजनीतिक घोषणाजस्तै देखियो ।

थापाले आफ्नो मन्तव्यको शुरूआतमै नेतृत्व तहमा चलिरहेको छलफलप्रति संकेत गर्दै आफू र अर्का महामन्त्रीप्रति नकारात्मक टिप्पणी भइरहेको हुनसक्ने बताए । ‘यी दुईओटा महामन्त्रीले नचाहिने काम गरिरहेका छन्’ भन्ने सन्देश सभापतिसम्म पुगेको हुन सक्ने संकेत गर्दै उनले त्यसको प्रतिवाद गरे ।

भदौ २३ र २४ का घटनाक्रम स्मरण गराउँदै थापाले पार्टी संकटमा पर्दा सबैभन्दा पहिले सभापतिसँग सम्पर्क गर्ने, निर्णय लिन दबाब दिने र वक्तव्य निकाल्ने साहस देखाउने पनि आफूहरू नै भएको दाबी गरे । यसले महामन्त्रीहरू सत्ता–विरोधी होइन, जिम्मेवारीबाट भाग्न नचाहने पात्र भएको सन्देश दिन खोजिएको देखिन्थ्यो ।

गगन थापाको भाषणको सबैभन्दा शक्तिशाली र राजनीतिक रूपमा संवेदनशील अंश सभापति शेर बहादुर देउबाप्रति लक्षित थियो । उनले देउवाको लोकतान्त्रिक योगदानको सम्मान गर्दै समय आएको स्पष्ट सन्देश दिए— ‘अब तपाईंले आराम गर्नुपर्छ, छाड्नुपर्छ, मार्गप्रशस्त गर्नुपर्छ।’
देउवाले स्वयं मंसिरभित्र महाधिवेशन गर्ने र नेतृत्व छाड्ने संकेत दिएको स्मरण गराउँदै थापाले त्यो घोषणा कांग्रेसभित्र मात्र होइन, बाहिर पनि सकारात्मक रूपमा लिइएको दाबी गरे। नेतृत्व हस्तान्तरण कमजोरी होइन, परिपक्वताको प्रतीक हो भन्ने सन्देश यो अंशमा स्पष्ट देखिन्थ्यो ।

थापाले भदौ २३ र २४ को जेन–जी आन्दोलनलाई केवल युवाको आवेगका रूपमा व्याख्या गरेनन् । उनले त्यो आन्दोलन देशभरका लाखौं नागरिकको संचित आक्रोशको अभिव्यक्ति भएको बताए ।

‘राजाको छोरा राजा हुने राजतन्त्र फालेर ल्याएको गणतन्त्रमा नेपो–बेबीहरूको राज देखेर जनता रिसाएका हुन्,’ भन्ने उनको वाक्यले सत्ता, वंशवाद र अवसरको असमान वितरणप्रति गहिरो असन्तोष रहेको संकेत ग¥यो ।

उनले त्यो आक्रोश सरकार र संसदतर्फ लक्षित भएको स्वीकार्दै त्यसको जिम्मेवारी आफूहरूकै काँधमा रहेको स्पष्ट स्वीकारोक्ति पनि गरे। यसले कांग्रेस नेतृत्वले आत्मालोचना गर्नुपर्ने दबाबलाई अझ बलियो बनायो ।

थापाको भाषणमा कांग्रेसको वैचारिक पहिचानलाई नयाँ सन्दर्भमा परिभाषित गर्ने प्रयास पनि देखियो । उनले कांग्रेस चुनाव जित्ने मेशिनमात्र नभई संकटको समयमा देशलाई दिशा दिने राष्ट्रिय शक्ति भएको बताए ।

उनका शब्दमा, ‘राष्ट्रिय पार्टी चुनावबाट बन्छ, राष्ट्रिय शक्ति जिम्मेवारीले बन्छ ।’ अहिले देशले कांग्रेसबाट जित–हारभन्दा माथि उठेर विश्वास र दिशानिर्देशन खोजिरहेको सन्देश उनले स्पष्ट रूपमा राखे ।

विशेष महाधिवेशनको महत्वबारे बोल्दै थापाले यसलाई नामले मात्र होइन, व्यवहारले पनि विशेष बनाउनुपर्ने बताए । हाउसले जे निर्णय गर्छ, त्यसलाई स्वीकार गर्ने प्रतिबद्धता जनाउँदै उनले लोकतान्त्रिक प्रक्रियाको सम्मानमा जोड दिए ।

उनको भाषणको एउटा गहिरो राजनीतिक सन्देश थियो– ‘कांग्रेस दास र लासहरूको पार्टी होइन, ज्युँदा मानिसहरूको पार्टी हो।’ पार्टीभित्र प्रश्न मरे भने समाजमा प्रश्न गर्न नसकिने उनको चेतावनी थियो ।

थापाले पछिल्लो समय देखिएका अवसरवादी राजनीतिक प्रवृत्तिमाथि कडा प्रहार गरे— चुनाव एउटासँग लड्ने, सरकार अर्कोसँग बनाउने; सरकार बाहिरिँदा सबै कुरा सकिएजस्तो गर्ने प्रवृत्तिले पार्टीलाई कमजोर बनाएको उनको निष्कर्ष थियो।

विशेष महाधिवेशनले पार्टी सञ्चालनको पुरानो शैली तोडेको दाबी गर्दै उनले अब कुनै पनि नेतृत्वले कार्यकर्तालाई हेप्न नसक्ने सन्देश दिए । तल बस्ने कार्यकर्ता र माथि बस्ने नेतृत्वबीचको दूरी घटाउनुपर्ने उनको जोड थियो ।

भाषणको अन्त्यतिर थापाले आफू कुनै राजनीतिक वंशको उत्पादन नभएको स्पष्ट गरे । ‘म बीपीको छोरा होइन, गणेशमानको छोरा पनि होइन,’ भन्दै उनले वंशको रगत होइन, विचार र साहस आफ्नो राजनीतिक पूँजी भएको बताए ।

यो वाक्य केवल व्यक्तिगत आत्मविश्वासको अभिव्यक्ति थिएन, यो कांग्रेसभित्र वंशवाद विरुद्धको वैचारिक चुनौती थियो ।

गगन थापाको यो भाषण कांग्रेसभित्रको पुस्तान्तरणको माग, नेतृत्वप्रति असन्तोष र संगठन सुधारको दबाबको संगम थियो। यो मन्तव्यले विशेष महाधिवेशनलाई केवल प्रक्रियागत अभ्यासबाट उठाएर वैचारिक र राजनीतिक मोडमा पु¥याएको देखिन्छ ।

अब प्रश्न भाषणले के भन्यो भन्ने होइन, कांग्रेसले त्यसबाट के सिक्छ र कस्तो निर्णय गर्छ भन्ने हो। विशेष महाधिवेशनको वास्तविक परीक्षा यहीँबाट शुरू हुन्छ।

यो समाचारमा

शेर बहादुर देउबाकाठमाडौँगगन थापानेपाली काँग्रेस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सडक स्तरोन्नति र पुल निर्माण हाम्रो स्पष्ट नीति हो : मुख्यमन्त्री बानियाँ

    मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सडक यातायात क्षेत्रका समस्या समाधान गर्न वर्तमान कानुन संशोधन गरी लगानीकर्ता र यात्रुमैत्री बनाइने बताएका छन् ।नारायणी यातायात व्यवसायी संघको ३७औँ वार्षिकसभा तथा १६ अधिवेशनमा उनले यातायात व्यवसायीले सवारीका चालक र सहचालकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन इमान्दार प्रयासको आवश्यकता औँल्याए ।मुख्यमन्त्री बानियाँले

    Data is loading...

    Loading brands...

    Loading footer...