काठमाडौँ।
सत्तारूढ दल नेपाली काँग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) उपसभामुख इन्दिरा रानामगरलाई पदबाट हटाउन एक ठाउँमा उभिएका छन्। आचरणसम्बन्धी प्रश्न उठाउँदै महाभियोग प्रस्तावमार्फत उनलाई हटाउने तयारीस्वरूप दुवै दलले आ-आफ्नो पार्टीमा आकस्मिक छलफल थालेका छन्।
यसै सिलसिलामा कांग्रेस सभापति शेर बहादुर देउबाको निवास बूढानीलकण्ठमा मंगलबार बिहानैदेखि पदाधिकारी बैठक जारी छ, जहाँ उपसभामुखलाई हटाउने विषयमा छलफल केन्द्रित रहेको एक नेताले बताए। उता, एमालेले पनि आजै संसदीय दलको आकस्मिक बैठक बोलाएको छ। बैठकको विषयवस्तु खुलाइएको छैन, तर सांसदहरूलाई उपसभामुखविरुद्धको प्रस्तावमा हस्ताक्षर गराउन बोलाइएको हुनसक्ने अनुमान छ।
सतहमा उपसभामुखको आचरणमाथि प्रश्न उठाइएको भए पनि यसको मुख्य राजनीतिक कारण संवैधानिक परिषद्को संरचनासँग जोडिएको छ। ६ सदस्यीय परिषद्मा उपसभामुखका कारण सत्ता र प्रतिपक्षको शक्ति बराबर हुँदा निर्वाचन आयोगका प्रमुख आयुक्तलगायत महत्त्वपूर्ण संवैधानिक नियुक्तिहरू हुन सकेका छैनन्। उनलाई हटाएर परिषद्मा आफ्नो बहुमत पुर्याउने सत्ता गठबन्धनको रणनीति देखिन्छ।
उपसभामुखलाई हटाउन प्रतिनिधि सभामा दुई तिहाइ बहुमत आवश्यक पर्छ। कांग्रेस र एमालेको मात्रै बहुमत अपुग हुने भएकाले प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)लाई समेत पक्षमा ल्याउने प्रयास भइरहेको छ।
स्रोतका अनुसार, कांग्रेसले उपसभामुख पद आफूले लिने र बदलामा राज्य व्यवस्था तथा सुशासन समितिको सभापति एमालेलाई छाड्ने गरी आन्तरिक सहमति जुटाउने प्रयास गरिरहेको छ।