कृष्ण जन्माष्टमी हिन्दू धर्मावलम्बीहरूको एक प्रमुख धार्मिक पर्व हो, जुन भगवान श्रीकृष्णको जन्मोत्सवको रूपमा मनाइन्छ। यो पर्व भाद्र महिनाको कृष्णपक्षको अष्टमी तिथिमा मनाइन्छ। श्रीकृष्ण विष्णुको अष्टम अवतार मानिन्छन् र उनको जीवनले भक्ति, न्याय, प्रेम र धर्मको मार्ग प्रशस्त गरेको छ। यस दिन मन्दिरहरूमा भक्तिभावपूर्ण झुला, कीर्तन, भजन र रात्रिजागरण गरी श्रीकृष्णको जन्मोत्सव धुमधामसाथ मनाइन्छ।
इतिहास:
श्रीकृष्णको जन्म द्वापरयुगमा मथुराको कारागारमा भएको थियो। उनका पिता वसुदेव र माता देवकी थिए। कंसले आफ्नी बहिनी देवकी र ज्वाई वसुदेवलाई कारागारमा बन्दी बनाएको थियो किनभने उसले आकाशवाणीबाट सुनेको थियो कि देवकीको आठौं सन्तानले उसको वध गर्नेछ। यसैले कंसले देवकीको सबै सन्तानहरूको हत्या गर्यो, तर आठौं सन्तान श्रीकृष्णलाई वसुदेवले रातो रात नन्द र यशोदाको घर गोकुलमा पुर्याए। यसरी कृष्णले बाल्यकाल गोकुलमा बिताए र पछि कंसको अत्याचारबाट मथुरालाई मुक्त गराए।
राधा कृष्णको प्रेम:
हिन्दू धर्म र भक्ति साहित्यमा राधा र कृष्णको प्रेमकथा दिव्य, पवित्र र अलौकिक मानिन्छ। यो प्रेम केवल शारीरिक वा भौतिक होइन, आत्मिक र आध्यात्मिक छ। राधा कृष्णको प्रेम भक्तिको प्रतीक हो, जहाँ राधा भक्ति (जीवात्मा) र कृष्ण भगवान (परमात्मा) हुन्। पुराण, भागवत र ब्रज साहित्यमा राधा-कृष्णको प्रेमको विस्तृत वर्णन छ। कृष्णले बाल्यकालदेखि गोकुल, वृन्दावन र बरसानामा राधा र गोपीहरूसँग रासलीला गरेको उल्लेख छ। राधा कृष्णको सबैभन्दा प्रिय गोपी थिइन् र उनको प्रेमलाई महाभाव को रूपमा चिनिन्छ, जुन भक्तिको उच्चतम अवस्था हो। किंवदन्ती अनुसार, राधा कृष्णको बाल्यसखी थिइन्। उनी वृषभानु गोपकी छोरी थिइन्। कृष्णले बाँसुरी बजाएपछि राधा र अन्य गोपीहरू मन्त्रमुग्ध भएर उनतिर आकर्षित हुने गर्थे। राधा कृष्णको प्रेम इतना गहिरो थियो कि उनको नाम कृष्णसँग जोडिएर राधाकृष्ण भनिन थालियो। यस प्रेममा आत्माले परमात्मालाई पाउन चाहन्छ, जुन मोक्षको परम लक्ष्य हो। यसैले राधाको प्रेमलाई परम भक्तिको प्रतीक मानिन्छ।
धार्मिक विशेषता:
कृष्ण जन्माष्टमी हिन्दू धर्ममा अत्यन्तै पवित्र मानिन्छ। यस दिन व्रत, भजन, कीर्तन, पूजा र श्रीकृष्णको बालरूपको झुला झुल्ने परम्परा छ। मन्दिरहरूमा श्रीकृष्णको मूर्तिलाई सुन्दर वस्त्र र आभूषणले सजाइन्छ। भगवद्गीतामा कृष्णले दिएको उपदेशले मानिसहरूलाई कर्म, धर्म र भक्तिको मार्ग देखाउँछ। यसैले यो पर्व केवल उत्सव मात्र होइन, आध्यात्मिक चेतनाको प्रतीक पनि हो।
सामाजिक मूल्य र मान्यता:
कृष्ण जन्माष्टमीले समाजमा एकताको भावना बढाउँछ। यस दिन धनी९गरीब, जात-पातको भेदभाव नराखी सबैले मिलेर उत्सव मनाउँछन्। श्रीकृष्णको चरित्रले प्रेम, साहस, न्याय र बुद्धिमत्ताको शिक्षा दिन्छ। उनको लीला (बालसुलभ चपलता) र रासलीलाले समाजमा आनन्द, प्रेम र भक्तिको संचार गर्छ। यसले मानिसहरूलाई नैतिकता र सदाचारको पाठ पनि सिकाउँछ।
पौराणिक मान्यता:
पौराणिक मान्यताअनुसार, श्रीकृष्णको जन्म राति भएकोले यसलाई मोहरात्री पनि भनिन्छ। उनी नारायणको अंश मानिन्छन् र उनको जन्मले अधर्मको अन्त्य र धर्मको विजयको प्रतीक हो। कृष्णले महाभारतको युद्धमा अर्जुनलाई गीताको ज्ञान दिएर कर्मयोगको शिक्षा दिए। यसैले उनको जन्मोत्सवलाई ज्ञान, भक्ति र कर्मको संयोगको रूपमा लिइन्छ।
धार्मिक महत्व:
कृष्ण जन्माष्टमीको धार्मिक महत्व अपार छ। यस दिन व्रत राखेर भगवान कृष्णको पूजा गर्नाले भक्तहरूको मनोकामना पूरा हुने विश्वास गरिन्छ। शास्त्रहरूमा उल्लेख छ कि यस दिन श्रीकृष्णको भक्ति गर्नाले मोक्ष प्राप्ति हुन्छ। देश तथा बिदेशका प्रसिद्ध मन्दिरहरू जस्तै मथुरा, वृन्दावन, द्वारका र पशुपतिनाथमा विशेष पूजा आयोजना गरिन्छ।
नेपालमा कृष्ण जन्माष्टमीको अवसरमा विभिन्न ठाउँहरूमा धार्मिक उत्साह र भक्तिका साथ ठूला मेला लाग्छन्। काठमाडौँ उपत्यकामा पाटन दरबार क्षेत्रको प्रसिद्ध कृष्ण मन्दिर, भक्तपुरको चाँगुनारायण मन्दिर र तौमाधि स्क्वायर, बसन्तपुर क्षेत्रमा दही-हन्डी प्रतियोगिता, बुढानीलकण्ठस्थित आईएस्कन मन्दिरमा १२ घण्टे अखण्ड कीर्तन, वीरगंजको गीता मन्दिर, रुपन्देहीको भैरहवा र बुटवलका कृष्ण मन्दिरहरू, ओमसतियाको सतियामाई मन्दिरमा डोला यात्रा, मंगलबारे धाम, टेकुको बाल कृष्ण आश्रम, पर्साको बिरुवागुठी, सिद्धार्थनगर लगायतका स्थानहरूमा भक्तजनको घुइँचो लाग्छ। यी सबै स्थानहरूमा विशेष पूजा, भजन-कीर्तन, सांस्कृतिक कार्यक्रम, र परम्परागत झाँकी यात्राहरू आयोजना गरिन्छ जसले गर्दा जन्माष्टमीको पर्व रमाइलो र आध्यात्मिक बन्छ।
वैज्ञानिक महत्व:
कृष्ण जन्माष्टमीको धार्मिक महत्वका साथै यसको वैज्ञानिक पक्ष पनि उल्लेखनीय छ। यस अवसरमा गरिने रात्रिजागरणले मानिसको जैविक घडी (सर्केडियन रिदम) लाई संतुलित गर्न मद्दत गर्छ भने उपवासले इन्टरमिटेन्ट फास्टिंगको रूपमा काम गरी शरीरको डिटक्सिफिकेसन प्रक्रियालाई सक्रिय बनाउँछ। भजन-कीर्तनले मस्तिष्कमा अल्फा तरंगहरू बढाउँदै तनाव घटाउने र खुशी दिने हर्मोन (डोपामाइन र सेरोटोनिन) को स्तर उच्च बनाउँछ। दही-हन्डी जस्ता परम्परागत खेलहरूले शारीरिक सन्तुलन, टीमवर्क र सहनशक्ति विकास गर्न सहयोग गर्छन्। यो पर्व भाद्र महिनामा पर्दछ जुन मनसुनपछिको समय हो ९ यसले रोगप्रतिरोधक क्षमता बढाउन मद्दत गर्ने गर्छ। सामूहिक रूपमा मनाइने यस उत्सवले सामाजिक एकताको भावना बढाउँदै मानिसहरूको मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ। यसरी कृष्ण जन्माष्टमीले धार्मिक आस्थाका साथै शारीरिक, मानसिक र सामाजिक स्वास्थ्यको दृष्टिकोणबाट पनि महत्त्वपूर्ण भूमिका खेल्दछ।
निष्कर्ष:
कृष्ण जन्माष्टमी केवल धार्मिक पर्व मात्र होइन, यो जीवनमा आनन्द, प्रेम, न्याय र धर्मको संदेश लिएर आउँछ। श्रीकृष्णको जीवनले मानिसहरूलाई सही मार्गमा हिँड्न प्रेरित गर्छ। यसरी यो उत्सवले समाजमा सकारात्मक ऊर्जा र आस्थाको प्रवाह गराउँछ। राधा९कृष्णको प्रेम भक्ति, समर्पण र आध्यात्मिक आनन्दको प्रतीक हो। यसले मानिसहरूलाई सांसारिक मोहभन्दा माथि उठेर परमात्मासँग जोडिन प्रेरित गर्छ। उनको प्रेमकथाले मानव जीवनमा शुद्ध प्रेम, निष्ठा र भक्तिको मार्ग प्रशस्त गर्दछ।
हरे कृष्ण, हरे राम
राधे कृष्ण, राधे श्याम
सन्दर्भ सामग्री:
-श्रीमद्भागवत पुराण, विशेष गरी दशम स्कन्ध
-हरिवंश पुराण र विष्णु पुराणमा कृष्णावतारको वर्णन
-उपवास र जैविक घडी (Circadian Rhythm) सम्बन्धी
अभिष बानियाँ
स्नातकोत्तर भौतिकशास्त्र
कटारी १ उदयपुर ।