स्याङग्जा।
स्याङ्जाको वालिङ–६, मिर्मीस्थित नेचुरल भ्यू प्वाइन्ट रेस्टुरेन्टको सभाहलमा लघुकथाकार लक्ष्मी रेग्मी खनालको पहिलो लघुकथा कृति ‘अन्त्य’ को विमर्श तथा एकल लघुकथा वाचन समारोह भव्य रूपमा सम्पन्न भएकाे छ।
साहित्यिक पुनर्जागरणको छैठौं वार्षिकोत्सव र आदिकवि भानुभक्त आचार्यको २११ औँ जन्मजयन्तीको अवसरमा वैकल्पिक बाटो, पृथक पाइला सिर्जनात्मक अभियान २०७६अन्तर्गत आयोजना गरिएको यो कार्यक्रम स्याङ्जाको साहित्यिक इतिहासमा पहिलो पटक कृतिमाथि केन्द्रीत भई गरिएको एकल लघुकथा वाचन तथा समुहगत छलफल (प्यानल डिस्कसन)मा आधारित कार्यक्रम हो।
कार्यक्रममा वक्ताहरु अनन्त अर्याल, शम्भु अर्याल, इन्दु श्रेष्ठ तथा लघुकथाकार लक्ष्मी रेग्मी खनालसँग मिलन समीरको संयोजनमा विमर्श गरिएको थियो। विमर्शमा ‘अन्त्य’ कृतिको साहित्यिक विश्लेषणसँगै लघुकथा विधाको भविष्य र स्याङ्जामा बढ्दो नारी स्रष्टाहरुको सक्रियता र लेखन क्षमतामाथि केन्द्रित छलफल भएकाे थियाे। वक्ताहरूले खनालको लेखन शैली सशक्त रहेको र भविष्यमा उनको लेखन अझै प्रभावशाली रूपमा अघि बढ्ने विश्वास व्यक्त गरे।
पुतलीबजार–१३ स्याङ्जामा जन्मिएकी लघुकथाकार खनाल हाल वालिङमा रहेर सिर्जनात्मक क्षेत्रमा सक्रिय छिन्। उनले स्नातकसम्मको औपचारिक अध्ययन पुरा गरेकी छन् भने ‘अन्त्य’ कृति उनको पहिलो प्रकाशित कृति हो। उनी विभिन्न लघुकथा प्रतियोगितामा पुरस्कृत पनि भइसकेकी छन्।
कार्यक्रम वैकल्पिक बाटो, पृथक पाइला सिर्जनात्मक अभियानका संस्थापक संयोजक युवा कवि मिलन समीरद्वारा संयोजित थियो। कार्यक्रममा स्याङ्जाली स्रष्टाहरु सरस्वती अर्याल, गुरु ढकाल, भविष्य पण्डित, खगेन्द्रजंग थापा, शोभाकान्त रेमी, विष्णु पाण्डेनी पाण्डे, डी.बी. राना, स्मारिका अर्याल, पारिक्षर न्यौपाने, राजु गैरे, वसन्त खनाल, सूर्यांश अर्याल, धनबहादुर शर्मा लगायतको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रमले स्याङ्जामा लघुकथा विधाको विकास, नवोदित स्रष्टाहरुको प्रोत्साहन र वैकल्पिक साहित्यिक अभ्यासलाई थप सबल बनाउने अपेक्षा गरिएको छ।