काठमाडौँ ।
यस वर्ष हेटौंडामा सम्पन्न गाइजात्रा पर्वमा केही भारतीय नागरिकहरूको अस्वाभाविक सक्रियता र हस्तक्षेपकारी व्यवहार देखिएपछि सामाजिक सञ्जाल तथा स्थानीय स्तरमा आलोचना सुरु भएको छ। नेवार समुदायको मौलिक सांस्कृतिक पर्वको मर्ममाथि प्रहार भएको भन्दै स्थानीयले आयोजक नेवाः गुठीलाई भविष्यमा सतर्क रहन आग्रह गरेका छन्।
प्रत्यक्षदर्शीहरूका अनुसार, जात्राको भीडमा केही भारतीय नागरिकहरू प्रवेश गरी अशोभनीय व्यवहार देखाएका थिए। उनीहरूले जात्राको बीचमा अवरोध सिर्जना गर्ने प्रयास गरेको र अनुचित माग राखेको दृश्यले स्थानीयलाई आक्रोशित बनाएको हो। यो घटनाले नेवार समुदायको सांस्कृतिक पर्वको मौलिकता र पहिचानमाथि बाह्य हस्तक्षेप भएको भन्दै चिन्ता व्यक्त गरिएको छ।
घटनापछि स्थानीय बासिन्दा र संस्कृतिप्रेमीहरूले आयोजक नेवाः गुठीलाई आगामी वर्षहरूमा यस्ता गतिविधि दोहोरिन नदिन विशेष सतर्कता अपनाउन आग्रह गरेका छन्। सांस्कृतिक संरक्षणकर्मीहरूले यस्ता घटनाले परम्परागत पर्वको गरिमा र पवित्रतामाथि आँच पुर्याउने भन्दै संस्कृतिको संरक्षणमा आयोजक मात्र नभई सबै पक्ष जिम्मेवार हुनुपर्नेमा जोड दिएका छन्।
यो घटनाले सांस्कृतिक पर्वहरू आयोजना गर्दा बाह्य प्रभाव र सम्भावित विकृतिप्रति सचेत हुनुपर्ने आवश्यकतालाई उजागर गरेको छ।