काठमाडौँ,असार ०३ ।
हेटौडा उपमहानगरपालिका–१० स्थित एक होटलमा श्रीमती भेट्न पुगेका एक युवक मृत अवस्थामा फेला परेका छन्। हेटौंडा–१२, पदमपोखरीका करिब ३० वर्षीय अमित मोक्तानको सोमबार राति बसपार्कस्थित रोशन होटल एण्ड लजको छतबाट खसेर मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक (डीएसपी) श्यामु अर्यालका अनुसार, मोक्तान सोही होटलमा कार्यरत आफ्नी श्रीमती ममता प्रजालाई भेट्न पुगेका थिए। होटलको तेस्रो तलामा रहेको छतमा पुगेका उनी रेलिङबाट अचानक खसेर भुइँमा बजारिएको प्रारम्भिक जानकारी आएको छ।
घटनालगत्तै उनलाई प्राथमिक उपचारपछि थप उपचारका लागि चितवनस्थित भरतपुर अस्पतालमा पठाइएको थियो। तर, उपचारका क्रममा मंगलबार बिहान चिकित्सकले उनलाई मृत घोषणा गरेको डीएसपी अर्यालले बताए।
"प्रारम्भिक अनुसन्धानमा घटना शंकास्पद देखिएको छैन," डीएसपी अर्यालले भने, "यद्यपि, हामी घटनाको विषयमा थप अनुसन्धान गरिरहेका छौं।"
मृतक मोक्तानको शव हाल भरतपुर अस्पतालको शवगृहमा राखिएको प्रहरीले जनाएको छ।