काठमाडौँ, असार ०२ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सोमबारको प्रतिनिधि सभा बैठक अवरुद्ध पारेका छन्। सभामुखले बैठक अगाडि बढाएपछि राप्रपाले बैठक बहिष्कार गरेको छ भने रास्वपाले वेल घेराउ गर्दै नाराबाजी जारी राखेको छ।
सोमबार सभामुख देवराज घिमिरेले बैठक प्रारम्भ भएको घोषणा गरेलगत्तै दुवै प्रतिपक्षी दलका सांसदहरूले आ-आफ्नो स्थानबाट उठेर विरोध जनाएका थिए।
भिजिट भिसा प्रकरणको छानबिनका लागि संसदीय समिति गठन र गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै आएको रास्वपाका सांसदहरूले नाराबाजीसहित वेल घेराउ गरेका हुन्। अर्को प्रतिपक्षी दल राप्रपाका सांसदहरू भने बैठक बहिष्कार गरेर बाहिरिएका छन्।
प्रतिपक्षी दलहरूको अवरोध र नाराबाजीकै बीच सभामुख घिमिरेले बैठकको कारबाही अगाडि बढाएका छन्। उनले सत्ता पक्षका सांसदहरूलाई बजेटमाथिको छलफलमा भाग लिनका लागि समय उपलब्ध गराइरहेका छन्।