काठमाडौँ।
बाँकेको डुडुवा गाउँपालिका–३ हल्कारापूर्वाका रामसुहावन यादव जिल्लाकै एक नमूना भैँसीपालक किसानका रूपमा चिनिएका छन्। हाल उनको गोठमा सानाठूला गरी करिब १५० भैँसी र पाडापाडी छन्, जसको हेरचाहमा उनको तीन पुस्ता (छोराछोरीदेखि नातिनातिनासम्म) सक्रिय रूपमा खटिएका छन्।
रामसुहावनको गोठबाट दैनिक करिब ४०० लिटर दूध उत्पादन हुन्छ, जसले नेपालगन्ज बजारको ठूलो माग धान्दै आएको छ। उनको यो मिहिनेत र पुख्र्यौली पेसाप्रतिको समर्पणलाई कदर गर्दै सरकारले उनलाई 'राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार २०८२' बाट सम्मानित गरेको छ। २ लाख नगदसहितको यो पुरस्कार पाएपछि अहिले हल्कारापूर्वा गाउँमै खुसीयाली छाएको छ। उनले पुरस्कारवापतको रकम पनि भैँसीपालनकै विस्तारमा लगाएका छन्।
पुरस्कार र सम्मानले उत्साह थपे पनि रामसुहावनले दुग्ध क्षेत्रको गम्भीर समस्या झेल्नुपरेको छ। उनले दुग्ध विकास संस्थान (डिडीसी) बाट दूध बिक्रीबापतको करिब ३० लाख रुपैयाँ भुक्तानी पाउन बाँकी छ। "सरकारले उत्कृष्ट कृषक घोषणा गर्दा खुसी छु, तर दूधको भुक्तानी नपाउँदा र मिल्क होलिडेको समस्याले व्यवसाय चलाउन निकै कठिन भएको छ," यादवले भने।
हल्कारापूर्वा गाउँ भैँसीपालनका लागि प्रसिद्ध छ, जहाँ ६ सयभन्दा बढी भैँसी पालिएका छन्। रामसुहावन जस्ता किसानहरूले राज्यबाट सम्मान मात्र नभई, पसिनाको उचित मूल्य र समयमै भुक्तानीको समेत अपेक्षा गरेका छन्।