काठमाडौँ।
मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले ऊर्जा क्षेत्रको विकासका लागि महत्त्वपूर्ण मानिएका चारवटा जलविद्युत् आयोजनाहरूलाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिने निर्णय गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलका अनुसार तल्लो अरुण, तल्लो न्यादी खोला, भुन्छा खोला र तादी खोला जलविद्युत् आयोजनाले अब वन क्षेत्र प्रयोग गर्न पाउनेछन्।
बैठकले लामो समयदेखि विवादमा रहेको नेपाल रेडक्रस सोसाइटीको व्यवस्थापनका लागि विशाल कुमार भण्डारीको अध्यक्षतामा नौ सदस्यीय तदर्थ समिति गठन गर्ने निर्णय गरेको छ। यस्तै, निजामती सेवा (सोह्रौँ संशोधन) नियमावली २०८१ लाई पनि मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ।
अर्को महत्त्वपूर्ण निर्णयअनुसार, पूर्व गृह मन्त्री सुदन गुरुङको सम्बन्धमा गठित छानबिन समितिले पेस गरेको प्रतिवेदनलाई मन्त्रिपरिषद्ले ग्रहण गरेको छ। प्रवक्ता पोखरेलले प्रतिवेदनको अध्ययनपछि आवश्यक कार्यान्वयन प्रक्रिया अघि बढाइने जानकारी दिए। यसका साथै, उनले काठमाडौँमा मेट्रो र मोनोरेलको सम्भाव्यता अध्ययन भइरहेको र त्रिभुवन विश्वविद्यालयको बजेटमा कुनै कटौती नहुने समेत स्पष्ट पारेका छन्।